मन्सुर खान बिरगंज माघ २६ गते । पर्सा क्षेत्र नं.१ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा बिरगंज महानगरपालिका अन्तर्गत श्रीपुर वडा नं.११ मा घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं.११ का बुथ सभापतिको अध्यक्षतामा सञ्चालन गरिएको थियो।कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। विशेषगरी श्रीपुर क्षेत्रका जेन–जी युवाहरू तथा अग्रजहरूको उत्साहपूर्ण सहभागिताले कांग्रेसको संगठनात्मक शक्ति थप मजबुत बन्दै गएको संकेत दिएको छ। घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीय जनता, युवा तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थितिले वातावरण ऊर्जाशील र सकारात्मक बनेको थियो।स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता र समर्थनले उम्मेदवार अनिल रुङ्टाप्रति जनविश्वास दिनानुदिन बलियो बन्दै गएको स्पष्ट देखिएको छ।सचेत र शिक्षित युवाहरू—विशेषगरी विधिशा जस्ता युवाहरूले देखाएको अटुट विश्वास र समर्थन नै रुङ्टाको सबैभन्दा ठूलो शक्ति सावित भइरहेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।कार्यक्रममा उपस्थित जनताले आफ्नो क्षेत्रका समस्या, पीडा र अपेक्षाहरू खुला रूपमा राख्दै विकास, रोजगारी, शिक्षा तथा पूर्वाधार सुदृढीकरणका लागि उम्मेदवार रुङ्टासँग सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङ्टाले निर्वाचनमा विजयी भएपश्चात बहिनी–छोरीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले सरकारी विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाइने, छात्राहरूको शैक्षिक पहुँच बढाइने तथा शिक्षामा समान अवसर सुनिश्चित गरिने स्पष्ट पारे। साथै, महिला सशक्तीकरण, गुणस्तरीय शिक्षा र सुरक्षित भविष्य निर्माण आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए।कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत ने.वि.संघ, तरुण दलका नेता, वरिष्ठ नेताहरू, कार्यकर्ताहरू तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूको सक्रिय सहभागिताले कार्यक्रमको राजनीतिक महत्व अझ बढाएको देखिन्थ्यो।अनिल रुङ्टाको घरदैलो कार्यक्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र साझा विश्वासले पर्सा क्षेत्र नं.१ मा सुझबुझको आवाज अब नारा मात्र नभई वास्तविक परिवर्तनको आधार बन्दै गएको स्पष्ट संकेत गरेको छ।