मन्सुर खान बिरगंज असोज १० गते । नारायणी अस्पतालमा प्रबेज अख्तरको मानवीय पहल, बिरामीका कुरुवालाई फलफूल वितरण । समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका संस्थापक सदस्य प्रबेज अख्तरले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरूलाई फलफूल वितरण गरेका छन्।अस्पतालमा लामो समयदेखि बिरामीको उपचारका क्रममा कुरुवा बसिरहेका आफन्तहरूले आर्थिक, मानसिक तथा शारीरिक कठिनाइ झेल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै अख्तरले फलफूल वितरण गरेका हुन्। कठिन परिस्थितिमा रहेका कुरुवालाई केही राहत पुर्याउने तथा उनीहरूमा आत्मीयता र मनोबल बढाउने उद्देश्यले उक्त मानवीय सेवा गरिएको बताइएको छ।फलफूल वितरण गर्दै अख्तरले दुःख र पीडाको समयमा एक–अर्कालाई साथ, सहयोग र सहानुभूति दिनु नै मानवीयताको महत्वपूर्ण पक्ष भएको बताए। उनले समस्यामा परेका, विपन्न तथा असहाय नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्ने संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।अख्तरको पहलबाट फलफूल प्राप्त गरेका बिरामीका कुरुवा तथा आफन्तहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले अस्पतालमा लामो समय बस्नुपर्ने अवस्थामा प्राप्त हुने यस्ता सहयोगले कठिन परिस्थितिमा राहतसँगै आत्मीयताको अनुभूति गराउने बताएका छन्।रास्वपा पर्साका संस्थापक सदस्यहरूमध्ये एक रहेका अख्तर पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारका गतिविधिमा सक्रिय रहँदै आएका छन्। पछिल्लो समय उनले सामाजिक सेवाका विभिन्न गतिविधिमार्फत विपन्न तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन्।अख्तरले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै सहयोग आवश्यक रहेका नागरिकलाई आफ्नो क्षमताअनुसार साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।नारायणी अस्पतालमा गरिएको फलफूल वितरण कार्यक्रमले उपचारका क्रममा रहेका बिरामीका कुरुवाप्रति समाजको दायित्व, सहानुभूति र मानवीय सहयोगको आवश्यकता उजागर गरेको छ।