मन्सुर खान बिरगंज असोज १२ गते । प्रहरी जवान लक्ष्मी कुमारी कार्की भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित
वीरगञ्ज । नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवरमा कार्यरत प्रहरी जवान लक्ष्मी कुमारी कार्कीलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी सम्मान गरिएको छ।
प्रहरी सेवामा देखाएको अनुशासन, कर्तव्यनिष्ठा, जिम्मेवारीबोध तथा कार्यसम्पादनको मूल्यांकन गर्दै गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर प्रसाद साहले कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेका हुन्। उनलाई एसपी साहले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन्।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिएको उक्त सम्मानले कर्तव्यप्रति समर्पित कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसबाट अन्य प्रहरी कर्मचारीलाई पनि आफ्नो जिम्मेवारीप्रति थप सक्रिय, अनुशासित र उत्तरदायी भएर कार्य गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
प्रशंसापत्र प्रदान गर्दै एसपी साहले प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य, अनुशासन, आज्ञापालन तथा जिम्मेवारीप्रति सदैव सचेत रहन निर्देशन दिए। उनले प्रहरी सेवाको प्रभावकारिता कर्मचारीको व्यावसायिक आचरण, अनुशासन र सेवाग्राहीप्रतिको जिम्मेवारीबोधसँग जोडिने भएकाले उच्च मनोबलका साथ कार्य गर्न आग्रह गरे।
एसपी साहले संगठनको मर्यादा कायम राख्दै सेवाग्राहीप्रति जिम्मेवार, संवेदनशील र उत्तरदायी भएर सेवा प्रवाह गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।
उत्कृष्ट प्रहरी छनोट तथा सम्मान गर्ने अभ्यासले प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै जिम्मेवारी निर्वाहमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।