मन्सुर खान बिरगंज असार २८ गते । राहदानी विभाग अगाडि बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङको हातबाट नागरिकताको प्रमाणपत्र लिएकी हुन् । उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म विवाह दर्ता भएको थिएन। एकमायाले नागरिकता पनि बनाएकी थिइनन् । श्रीमानको मृत्युपछि विवाह दर्ता गर्नुका साथै उनको नागरिकता पनि बनेको एक आफन्तले जानकारी दिए।राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्ने भएको छ । गणेशको परिवार र सरकारबीच ९ बुँदे सहमति, परिवार शव बुझ्न तयार त्रिपुरेश्वरको राहदानी विभाग अगाडि बिहीबार दिउँसो पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको घटनामा जिल्ला प्रशासन कार्यालय,काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तामा पीडित परिवारलाई राहत, रोजगारी, शिक्षा र घटनाको निष्पक्ष छानबिन गर्ने लगायतका बुँदामा सहमति भएको हो।यो सहमतिसँगै पीडित पक्ष शव बुझ्न तयार भएको छ । यस्ता छन् सहमतिका मुख्य बुँदाहरू
१) पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति — घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । समितिले गठन भएको ७ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ।
२) सहिद घोषणाको प्रक्रिया अघि बढाइने — गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन र छानबिन समितिको प्रतिवेदनका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।
३) नगर प्रहरी निलम्बन गरिने — घटना भएको दिन कार्यक्षेत्रको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन नआएसम्म निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई लेखी पठाउनेछ।
४) श्रीमतीलाई रोजगारी र छोरीलाई उच्च शिक्षा — काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकको निर्णय अनुसार गणेशकी श्रीमतीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ । साथै,उनकी छोरीको उच्च शिक्षासम्मको अध्ययन खर्च महानगरपालिकाले बेहोर्नेछ।
५) राहत र काजकिरिया खर्च — कार्यपालिका बैठकबाट निर्णय गराई मृतकका आश्रित परिवारलाई राहत स्वरूप यथोचित रकम उपलब्ध गराइनेछ । साथै,अन्तिम संस्कार र काजकिरियाको सम्पूर्ण व्यवस्थापन तथा खर्च महानगरपालिकाले बेहोर्नेछ।
६) स्वास्थ्य बिमा र खाद्य स्वच्छता — पीडित परिवारको स्वास्थ्य बिमा र खाद्य स्वच्छताका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ । यसबाहेक गणेशको परिवारका सदस्यहरूका लागि आतेजाते खर्च, काजकिरिया अवधिभर काठमाडौंमा बस्दा हुने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले बेहोर्नेछ।सहमतिपत्रमा नेपाल सरकारबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । त्यस्तै, पीडित परिवार र वार्ता समितिबाट गणेशकी श्रीमती एकमाया नेपाली,आमा सौरी नेपाली, दाजु मदन नेपाली,बहिनी सुन्दरी नेपाली र वार्ता समितिका सदस्यहरू धर्मराज शाही,भक्त बहादुर रावत,मन नेपाली सहित १३ जनाले हस्ताक्षर गरेका छन्।