मन्सुर खान बिरगंज साउन २६ गते । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन भ्रमण गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले आश्रममा आश्रित आमाबुबाहरूका लागि खाद्यान्न तथा भोजन सेवासमेत सहयोग गर्नुभएको छ।अवलोकनका क्रममा प्रहरी प्रमुख भट्टराईले आश्रममा आश्रित आमाबुबाहरूको अवस्था तथा आश्रमले सञ्चालन गर्दै आएको उद्धार, संरक्षण, उपचार र मानवसेवाका गतिविधिबारे जानकारी लिनुभएको थियो।सो अवसरमा नेपाल प्रहरीले मानवसेवा आश्रमका प्रत्येक शाखामा २४ सै घण्टा एक जना सादा पोशाकका प्रहरी कर्मचारी परिचालन गरी सुरक्षा तथा आवश्यक समन्वयमा सहयोग गर्दै आएको जानकारी गराइएको थियो। आश्रममा आश्रित असहाय तथा बेसहारा आमाबुबाहरूको सुरक्षा र संरक्षणमा नेपाल प्रहरीले गर्दै आएको सहयोगप्रति आश्रम परिवारले आभार व्यक्त गरेको थियो।प्रहरी प्रमुख भट्टराईले आगामी दिनमा नेपाल प्रहरी तथा व्यक्तिगत तर्फबाट समेत मानवसेवा आश्रमलाई आवश्यक सहयोग र साथ प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। मानवसेवा जस्तो पवित्र अभियानलाई प्रभावकारी बनाउन राज्यका निकाय, सुरक्षा निकाय तथा समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा मानवसेवा आश्रम पर्सा, वीरगञ्जका संरक्षक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्रोफेसर डाक्टर दीपक शाक्य तथा मानवसेवा आश्रम वीरगञ्ज अभिभावक परिवारका संयोजक एवं उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताले गर्नुभएको थियो।मानवसेवा आश्रमले सडकपेटी, सार्वजनिक स्थल तथा विभिन्न कठिन परिस्थितिमा रहेका असहाय, बेसहारा तथा परिवारबाट परित्यक्त व्यक्तिहरूको उद्धार गरी आश्रय, संरक्षण, उपचार तथा पारिवारिक पुनर्मिलनका लागि निरन्तर कार्य गर्दै आएको छ।