मन्सुर खान बिरगंज असार २९ गते । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन, चार दिन राष्ट्रिय शोक घोषणा. कतारलाई आधुनिक, समृद्ध र प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।कतारको राजदरबार (अमिरी दिवान)ले आइतबार आधिकारिक विज्ञप्ति जारी गर्दै उहाँको निधन भएको पुष्टि गरेको हो। उहाँको सम्मानमा कतार सरकारले सोमबारदेखि लागू हुने गरी देशभर चार दिन सार्वजनिक शोक तथा सार्वजनिक बिदा घोषणा गरेको छ।शेख हमद बिन खलिफा अल थानी सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर रहेका थिए। उहाँकै नेतृत्वमा कतारले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा उल्लेखनीय फड्को मार्दै विश्वका समृद्ध राष्ट्रमध्ये आफ्नो पहिचान स्थापित गरेको मानिन्छ।उहाँको शासनकालमा अन्तर्राष्ट्रिय समाचार सञ्जाल अल जजिराको विकास तथा कतार एयरवेजलाई विश्वस्तरीय एयरलाइन्सका रूपमा स्थापित गर्ने आधार तयार भएको थियो।सन् २०१३ मा उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमिर शेख तामिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्दै अरब जगत्मा शान्तिपूर्ण नेतृत्व हस्तान्तरणको उदाहरण प्रस्तुत गर्नुभएको थियो।लाखौँ नेपालीहरूको प्रमुख रोजगारी गन्तव्य बनेको कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति विश्वभरबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।