मन्सुर खान बिरगंज साउन १५ गते । ललितपुर प्रहरी परिसरको निरीक्षण, एआईजी राठौरद्वारा सुरक्षा र प्रहरी व्यवसायिकताबारे निर्देशन
ललितपुर — काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण भ्रमण गरी सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी व्यवसायिकताका विषयमा आवश्यक निर्देशन दिएका छन्।निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले एआईजी राठौरलाई स्वागत गरेका थिए।भ्रमणका क्रममा एआईजी राठौरले परिसरअन्तर्गतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाह, अनुशासन, कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।यसै क्रममा उनले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी कर्मचारी तथा मातहत कार्यालयका इन्चार्जहरूलाई वर्तमान सुरक्षा अवस्था, प्रहरी काम–कारबाही, संगठनको हितमा प्रहरी व्यवसायिकता तथा जिम्मेवारीसम्बन्धी विस्तृत ब्रिफिङ र निर्देशन दिएका थिए।प्रहरी संगठनको कार्यक्षमता अभिवृद्धि तथा नागरिकप्रति उत्तरदायी सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।