मन्सुर खान बिरगंज साउन २६ गते । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रकम कारोबार तथा शंकास्पद आर्थिक गतिविधिमाथि निगरानी र कारबाहीलाई तीव्रता दिँदै ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको नेतृत्वमा अवैध रकम कारोबारमाथि निगरानी तथा कानुनी कारबाहीलाई कडाइ गरिएको प्रहरीले जनाएको छ। सोही क्रममा पर्सा प्रहरीको अपराध अनुसन्धान शाखाबाट प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा परिचालित विशेष प्रहरी टोलीले विशेष सूचनाका आधारमा ठूलो परिमाणमा स्रोत नखुलेको रकम बरामद गरेको हो । प्रहरीका अनुसार २०८३ साल साउन २५ गते साँझ करिब ६ः३० बजे वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित सडक क्षेत्रमा विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुईवटा मोटरसाइकल रोकी जाँच गरेको थियो। टोलीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर र ना.५७ प ५१८२ नम्बरको निलो रंगको एफजेड मोटरसाइकल रोकेर त्यसमा सवार व्यक्तिहरूको खानतलासी गर्दा ठूलो परिमाणमा स्रोत नखुलेको नगद फेला परेको प्रहरीले जनाएको छ। ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद खानतलासीका क्रममा विभिन्न दरका नोट गरी कुल ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद रकममा—
१ हजार दरका नोट: ४ हजार ५ थान — ४० लाख ५ हजार रुपैयाँ
५ सय दरका नोट: २ हजार ३ सय ५३ थान — ११ लाख ७६ हजार ५ सय रुपैयाँ
१ सय दरका नोट: ६ सय ४३ थान — ६४ हजार ३ सय रुपैयाँ
५० दरका नोट: ८४ थान — ४ हजार २ सय रुपैयाँ
गरी जम्मा ५२ लाख ५० हजार रुपैयाँ रहेको छ।
ठूलो परिमाणमा नगद रकम फेला परेपछि प्रहरीले रकमको स्रोत, प्रयोजन तथा कारोबारमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । चार जना पक्राउ प्रहरीले रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागर कुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् । प्रहरीले उनीहरूबाट बरामद रकमको वैधानिक स्रोत खुल्न नसकेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रकम कहाँबाट ल्याइएको हो, कसलाई दिन वा कहाँ लैजान लागिएको थियो तथा यसमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा नगद रकमसँगै प्रहरीले रकम ओसारपसारमा प्रयोग भएको भनिएका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेण्डर र ना.५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले चार जनालाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार बरामद रकमको स्रोत तथा सम्भावित अवैध कारोबारसँग सम्बन्धित पक्षबारे थप अनुसन्धान भइरहेको छ । अवैध आर्थिक कारोबारमाथि निगरानी बढाउँदै प्रहरी
वीरगञ्ज नेपालको प्रमुख व्यापारिक तथा सीमावर्ती शहर भएकाले यहाँ वैध व्यापारिक कारोबारसँगै शंकास्पद आर्थिक गतिविधि र अवैध रकम ओसारपसार नियन्त्रण प्रहरीका लागि महत्वपूर्ण चुनौती रहँदै आएको छ। पछिल्लो समय पर्सा प्रहरीले सीमा क्षेत्र तथा वीरगञ्जका विभिन्न स्थानमा विशेष निगरानी बढाउँदै शंकास्पद रकम तथा अवैध कारोबारमाथि कारबाहीलाई प्राथमिकता दिएको जनाएको छ । प्रहरीले स्रोत नखुलेको रकम फेला पार्ने अभियानलाई केवल नगद बरामदमा सीमित नराखी रकमको स्रोत, गन्तव्य, कारोबारको उद्देश्य र सम्भावित संलग्न सञ्जाल पहिचान गर्ने गरी अनुसन्धान अघि बढाउने जनाएको छ । यस घटनामा पनि पक्राउ परेका चारै जनासँग प्रारम्भिक सोधपुछ तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बरामद ५२ लाख ५० हजार रुपैयाँ कुन प्रयोजनका लागि प्रयोग हुन लागेको थियो भन्ने विषय अनुसन्धानपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ । पर्सा प्रहरीले शंकास्पद आर्थिक कारोबार, अवैध रकम ओसारपसार तथा स्रोत नखुलेको नगद कारोबार नियन्त्रणका लागि सूचना संकलन, निगरानी र विशेष अपरेसनलाई निरन्तरता दिने संकेत गरेको छ।