मन्सुर खान बिरगंज साउन १३ गते । पर्सामा एसपी पवनकुमार भट्टराई, काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सुदीपराज पाठक
काठमाडौँ — नेपाल प्रहरीले पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको छ।नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका एसपी भट्टराईलाई पर्सा सरुवा गरिएको हो।वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछिको घटनाक्रमका बीच तत्कालीन पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकसँग सम्बन्धित भिडियो सार्वजनिक भएको थियो। त्यसपछि चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाबारे छलफल गर्न गठित चिकित्सकहरूको वार्ता टोलीले एसपी पाठकको सरुवालाई आफ्नो प्रमुख मागमध्ये एक बनाएको थियो। सोही पृष्ठभूमिमा नेपाल प्रहरीले पर्साको प्रहरी नेतृत्वमा परिवर्तन गरेको हो।यसअघि पर्साको प्रहरी प्रमुख रहेका एसपी सुदीपराज पाठकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ।यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसपी दानबहादुर थापालाई दिइएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए।