मन्सुर खान बिरगंज साउन २४ गते । रौतहटमा ग्याँसको उपलब्धता बुझ्न आकस्मिक छड्के अनुगमन
रौतहट — जिल्लामा खाना पकाउने ग्याँसको आपूर्ति तथा बिक्री–वितरणको अवस्थाबारे जानकारी लिन प्रशासनले आकस्मिक छड्के अनुगमन गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक कुमार बुढाथोकी, प्रहरी निरीक्षक कैलाश कुमार के.सी., प्रहरी नायब निरीक्षक बलिराम प्रसाद साह तथा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साह लगायतको संयुक्त टोलीले चन्द्रपुर, गौर र गरुडा क्षेत्रका विभिन्न ग्याँस उद्योग तथा डिलरमा छड्के अनुगमन गरेको हो।
अनुगमनका क्रममा ग्याँसको आपूर्ति तथा बिक्री–वितरणको अवस्था सामान्य रहेको पाइएको छ। टोलीले ग्याँसको उपलब्धता, आपूर्ति व्यवस्थालगायतका विषयमा जानकारी लिएको थियो।
उपभोक्तालाई सहज रूपमा ग्याँस उपलब्ध गराउने तथा आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।