मन्सुर खान बिरगंज जेठ ३२ गते । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले स्थापना दिवसमा पुराना पार्टीहरूलाई निम्तो पठाएन । नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले बुधबार काठमाडौंमा कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पुराना दलहरूलाई निम्तो गरिएको छैन । कार्यक्रममा अध्यक्ष भट्टराईसँगै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,जनमत पार्टीका अध्यक्ष सिके राउत,आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा देखिएका छन् । साथै नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरी पनि कार्यक्रममा सहभागी छन् । कार्यक्रममा लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक लगायत पनि उपस्थित छन् । नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले पुराना दलहरूलाई निम्तो नगरिएको बताए। नयाँ शक्तिहरूलाई निम्ता गरिएको हो,उनले भने । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा कार्यक्रम भइरहेको छ।