मन्सुर खान बिरगंज माघ १४ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको बिरगंजमा सम्बोधनको पूर्णपाठ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन उपस्थित महिला तथा सज्जनवृन्द तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ।हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक,प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ। गौरबशाली इतिहास बोकेको,उद्यम इलम उत्पादन व्यवसाय,बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ। हामी देखिरहेका छौं भोगिरहेछौं दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र,हाम्रो यो उर्वर मधेश भू-भाग आज उजाड बन्दै गइरहेको छ यहाँको पोखरी,पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ।यो गम्भिर चिन्ताको कुरा हो।मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेश तिर दगुरिरहेका छन्।उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमीन हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ।यो दुःखको कुरा हो। देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ, हामीमाथि आह्वान पनि छ।म भन्छु हामी हाम्रा पुर्खाको पौरख नभुलौं हामी यही बसौं यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो।अरुले आएर गरिदिने हैन।तर दुःखका साथ भन्नुपर्छ,आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ।यो अवस्थाको अन्त्य गर्नै परेको छ।यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन् झन् बरबादीतिर नलैजाउँ।त्यसका लागि अब सबैले सोचौ, समिक्षा गरौं।नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ।आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो।आफ्नो क्षमता,आफ्नै घरद्वर,आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ।यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन,हामी सबैको देश नेपाल,नेपालमा बस्ने हामी सबै नेपाली।त्यसैले विभेदको, विखण्डनको विग्रहको र निषेधको राजनीति हामी नगरौं।हामी सबैको भलाई यसैमा छ।आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरें। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।जेठ १९,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।