मन्सुर खान बिरगंज जेठ ११ गते । चितवनमा एसपी रामेश्वर पौडेल र पत्रकारबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेल र चितवनमा कार्यरत पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एसपी पौडेलले जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले प्रहरी र सञ्चार क्षेत्रबीच आपसी समन्वय र सहकार्य मजबुत हुन आवश्यक रहेकोमा जोड दिनुभयो।कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाको समसामयिक सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानको प्रगति तथा नागरिक–प्रहरी सम्बन्ध सुधारका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।सो अवसरमा एसपी पौडेलले पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रहरी प्रशासन पारदर्शिता, जवाफदेहिता र जनमुखी सेवाप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।अन्तरक्रिया कार्यक्रमले प्रहरी र सञ्चारकर्मीबीच आपसी समझदारी र सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ।