मन्सुर खान बिरगंज असार ७ गते । दाइजो विवाद र घरेलु हिंसापछि युवतीको हत्या भएको आरोप, श्रीमान् सहित परिवारविरुद्ध जाहेरी वीरगञ्ज,पर्सा — दाइजोको विषयलाई लिएर लामो समयदेखि घरेलु हिंसा तथा मानसिक यातना भोग्दै आएकी एक विवाहित युवतीको हत्या गरिएको आरोप लगाउँदै मृतकका परिवारले श्रीमान् तथा उनका परिवारका सदस्यविरुद्ध जाहेरी दिएका छन्।जाहेरीअनुसार खुशबुन खातुनको विवाह करिब पाँच महिनाअघि अरबाज आलमसँग सामाजिक तथा धार्मिक परम्पराअनुसार सम्पन्न भएको थियो।विवाहपछि केही समयसम्म सम्बन्ध सामान्य रहे पनि पछिल्ला दिनहरूमा दाइजो नल्याएको भन्दै श्रीमान् तथा परिवारका सदस्यहरूले कुटपिट, मानसिक यातना तथा दुर्व्यवहार गर्दै आएको आरोप लगाइएको छ।मृतकका परिवारले अरबाज आलमको अर्को युवतीसँग सम्बन्ध रहेको र उनीसँग विवाह गर्ने इच्छा व्यक्त गर्दै खुशबुनलाई पटक–पटक धम्की दिने गरेको दाबी गरेका छन्।साथै खानपान,आवश्यक सामग्री तथा आधारभूत सुविधाबाट समेत वञ्चित गर्दै नियमित कुटपिट र ज्यान मार्ने धम्की दिने गरिएको जाहेरीमा उल्लेख छ।परिवारका अनुसार उनीहरूले पटक–पटक दुवै पक्षबीच सम्झौता र मेलमिलापको प्रयास गरे पनि विपक्षी पक्षले खुशबुनलाई घरमा नराख्ने तथा अर्को विवाह गराउने अभिव्यक्ति दिएको आरोप छ।जाहेरीमा २०८३ असार ३ गते बिहान करिब १ बजे खुशबुन खातुनलाई योजनाबद्ध रूपमा कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको तथा घटनालाई आत्महत्याजस्तो देखाउन सिलिङ फ्यानमा झुण्ड्याइएको आरोप लगाइएको छ।घटनाको जानकारी पाएपछि मृतकका परिवार घटनास्थल पुगेका थिए। उनीहरूले युवतीको हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।प्रहरीका अनुसार घटनाको पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि त्यसका आधारमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।