मन्सुर खान बिरगंज साउन ३० गते । मधेस प्रदेशमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयको नेतृत्व सम्हालेका वाहिनिपति डिआईजी कृष्ण ढकालको कमान्डिङ्गमा १२० दिनभित्रै तस्करी र लागू औषधको संजाल ध्वस्त पारिएको छ । गत २०८२ साल वैशाख २२ गतेदेखि श्रावण २२ गतेसम्मको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले विभिन्न जिल्लाबाट करिब ९ करोड ६६ लाख ३९ हजार १७३ रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको तथ्यांक सार्वजनिक गरिएको हो । सशस्त्र प्रहरीले दिएको विवरणअनुसार पर्सा जिल्लामा वैशाख महिनामा मात्र २८ लाख ८४ हजार ५३६ रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो। जेष्ठमा यो रकम २ करोड ४१ लाख ३० हजार ६६८ पुगेको छ । त्यस्तै असारमा १ करोड ९९ लाख ६२ हजार १५० र साउनमा १ करोड ७२ लाख ४१ हजार ९३१ बराबरका अवैध सामान बरामद गरिएको छ । बारा जिल्लाबाट वैशाख महिनामा ६ लाख ३६ हजार ८२०, जेष्ठमा ३० लाख ६९ हजार २२०, असारमा ६७ लाख ५४ हजार ३३३ र साउनमा ७७ लाख ७८ हजार ४११ बराबरका सामान बरामद गरिएको छ। रौतहट जिल्लामा भने वैशाखमा ८ लाख ७ हजार ७०७, जेष्ठमा ३८ लाख ३९ हजार ८७०, असारमा ४८ लाख ४५ हजार १९५ र साउनमा ४५ लाख ८८ हजार ३३२ रुपैयाँ बराबरका सामान बरामद गरिएको तथ्यांकले देखाएको छ । यस अवधिमा सशस्त्र प्रहरीले लागू औषध तर्फ पनि उल्लेखनीय सफलता हात पारेको छ। सप्तरीमा मात्र ४०० किलोग्राम गाजा बरामद गरिएको छ भने अन्य जिल्लासहित कुल ५३७.५ किलोग्राम गाजा नियन्त्रणमा लिइएको छ। साथै नरफिन एम्पुल ६५० पिस, डाईजोपाम ६५० पिस, फेनार्गन ५०० पिस र ट्रामाडोल ८१ हजार ६४० पिस बरामद गरी आवश्यक कारबाही अगाडि बढाइएको छ । डिआईजी कृष्ण ढकालले तस्करी नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमाको सुरक्षा चुस्त बनाउन, आम सर्वसाधारणसँग सभ्य व्यवहार गर्न र अपराध नियन्त्रणमा कठोरतापूर्वक कदम चाल्न मधेस प्रदेशका सम्पूर्ण युनिटलाई स्पष्ट निर्देशन दिएका छन् । उनले अवैध क्रियाकलाप विरुद्धको यो सफल अभियानलाई निरन्तरता दिने र सीमावर्ती क्षेत्रमा सुरक्षालाई अझ सुदृढ गर्ने योजनासमेत बताएका छन् । यस सफलतासँगै मधेस प्रदेशमा तस्करी र लागू औषधको जालो नियन्त्रणमा उल्लेखनीय प्रगति भएको सशस्त्र प्रहरीले दाबी गरेको छ, जसले सीमावर्ती क्षेत्रको सुरक्षा र कानूनी शासनलाई थप मजबुत बनाएको छ।