मन्सुर खान बिरगंज असार ११ गते । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ पर्नेमध्ये एक जना प्रहरी हवल्दारसमेत छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली छन्। उनलाई भक्तपुरबाट असार ७ गते प्रहरीले पक्राउ गरेको हो। यस्तै, सिन्धुपाल्चोक भोटेकोशी-२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङलाई पनि सोही दिन पक्राउ गरिएको हो।यसैगरी, ओखलढुंगा घर भएका मुनाराज राईलाई पनि असार १० गते ललितपुरको इमाडोलबाट पक्राउ गरिएको हो । ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई असार १० गते पक्राउ गरिएको हो । सिन्धुपाल्चोकका उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो । उनी महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत हुन् । गत असार ४ गते भक्तपुर सूर्यविनायक- ४ दधिकोट बस्ने ४५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट उनीहरूले दुई करोड नेपाली रकम लुटेको आरोप छ। लुटपाटमा संलग्न एक जना भने फरार छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।