मन्सुर खान बिरगंज भदौ १८ गते । नेपाली जामे मस्जिद काठमाडौँद्वारा प्रधानमन्त्री राहत कोषमा ६ लाख रुपैयाँ सहयोग काठमाडौँ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नेपाली जनसमुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली जामे मस्जिद, काठमाडौँले प्रधानमन्त्री राहत कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ।विपद्को कठिन समयमा मानवताको पक्षमा उभिँदै प्रभावित नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको मस्जिदले जनाएको छ।पीडित परिवारहरूको दुःखमा साथ दिने उद्देश्यले गरिएको यस सहयोगले मानवता, सहअस्तित्व, सामाजिक एकता तथा परोपकारको भावनालाई थप बलियो बनाएको बताइएको छ।नेपाली जामे मस्जिद सञ्चालक समिति तथा मस्जिदसँग आबद्ध नमाजीहरूले देखाएको सेवाभाव आर्थिक सहयोगमा मात्र सीमित नभई विपद्को समयमा एकअर्काको दुःख र पीडामा साथ दिनुपर्ने महत्वपूर्ण मानवीय सन्देशका रूपमा समेत लिइएको छ।