मन्सुर खान बिरगंज भदौ १८ गते । बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा रु.१ लाख ५५ हजार ५५५ सहयोग वीरगञ्ज महानगरपालिका–१३ मा रहेको साउथ जोन माध्यमिक विद्यालय परिवारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहतका लागि रु.१ लाख ५५ हजार ५५५ सहयोग गरेको छ।विद्यालयका अनुसार अभिभावक तथा विद्यार्थीहरूबाट स्वतःस्फूर्त रूपमा संकलन गरिएको रु.४६ हजार १८२, शिक्षक, शिक्षिका तथा कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर स्वेच्छिक रूपमा प्रदान गरेको रु.५७ हजार ८१६ तथा विद्यालयको तर्फबाट प्रदान गरिएको रु.५१ हजार ५५५ गरी उक्त रकम संकलन गरिएको हो।विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीका अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहतका लागि मानवीय भावनासहित शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारले योगदान गरेका हुन्।शिक्षक तथा कर्मचारीहरूले आफ्नो एक दिन बराबरको तलब स्वतःस्फूर्त रूपमा सहयोग गरेका थिए भने विद्यार्थी तथा अभिभावकहरूबाट पनि स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको विद्यालयले जनाएको छ।विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाका अनुसार विद्यालयको तर्फबाट प्रदान गरिएको रु.५१ हजार ५५५ सहित संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको छ।संग्रौलाका अनुसार प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्नेछ।त्यसपछि प्याब्सन केन्द्रले देशभरका सदस्य विद्यालय तथा विभिन्न स्रोतबाट संकलित सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको प्रिन्सिपल चौधरीले जानकारी दिए।प्रिन्सिपल चौधरीले विपद्को समयमा मानवीय भावना देखाउँदै सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्।उनले दुःख र संकटमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय धर्म र दायित्व भएको उल्लेख गर्दै विपद्को समयमा एक–अर्काको साथमा उभिएर हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देशका साथ साउथ जोन माध्यमिक विद्यालय पनि यस मानवीय अभियानमा सहभागी भएको बताए।