मन्सुर खान बिरगंज जेठ १६ गते । बारा प्रहरीले नक्कली नेपाली नोट सहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न रहेका चार जना व्यक्तिहरूलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठुलो बसवरीयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २५ को राजन चौधरी,वडा नम्बर ५ बस्ने वर्ष १९ को आकाश चौधरी,रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ बस्ने महादेव साहको छोरा वर्ष १९ को मोहन कुमार साह र देश भारत, बिहार राज्य, जिल्ला मोतिहारी,थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ बस्ने वर्ष ४० को महमद आलम रहेको प्रहरीले जनाएको छ।उनिहरुको साथबाट नेपाली नक्कली नोट रू.१३ लाख १६ हजार बरामद भएको छ । साथै दुईवटा मोटरसाइकल र एकवटा साईकल समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिएका छन् । बारा प्रहरीले पत्रकार सम्मेलनमा चारै जनालाई सार्वजनिक गर्दै बारा प्रहरीका एसपी महेन्द्र खड्काले मोहन कुमार साहलाई जेठ १४ गते बेलुका ४ बजेको समयमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ सानो बसवरीयाबाट बिआर ०६ ए डबलु २७५८ नम्बरको भारतीय मोटरसाइकलसहित नेपाली नक्कली नोट रू. एक हजारको ७०७ वटा जम्मा रू.७ लाख ७ हजार बरामद गरि नियन्त्रणमा लिएको बताएका छन् ।त्यस्तै ,जेठ १५ गते बेलुका ४:१० बजेको समयमा भारतका महमद आलमलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठुलो बसवरीयाबाट साईकलमा आउदै गरेको अवस्थामा नेपाली नक्कली नोट रू.एक हजारको ६०९ वटा जम्मा रू.६ लाख ९ हजार सहित पक्राउ गरिएको एसपी खड्काले जनाए ।