मन्सुर खान बिरगंज फागुन ११ गते । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस धादिङस्थित त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी का अनुसार मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा विदेशी नागरिकसमेत परेको र तीमध्ये एक जना न्युजील्याण्ड का नागरिक रहेको पुष्टि गरिएको छ।प्रहरीका अनुसार ग १ ख १४२१ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा बाट राति करिब १ बजे सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म ल्याई, त्यसपछि सडकसम्म उकाली एम्बुलेन्समार्फत अस्पताल पठाइएको प्रशासनले जनाएको छ ।