मन्सुर खान बिरगंज असार ९ गते । साउथजोन माविमा नयाँ विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण सम्पन्न वीरगञ्ज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालय मा शैक्षिक सत्र २०८३ का लागि चयन भएका विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रममा हेड गर्ल,हेड ब्वाय, हाउस क्याप्टेन, खेलकुद संयोजक तथा अनुशासन प्रमुख लगायतका विद्यार्थी नेतृत्वले शपथ ग्रहण गरेका हुन्।कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयका विद्यार्थीहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो।उहाँले नेतृत्वको जिम्मेवारी प्राप्त गरेका विद्यार्थीहरूलाई विद्यालयको नीति तथा नियमको पालना गर्दै इमान्दारितापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो।उहाँले जिम्मेवारी लिनु मात्र पर्याप्त नहुने, त्यसलाई सफलतापूर्वक पूरा गर्नु नै वास्तविक उपलब्धि भएको उल्लेख गर्दै पदभन्दा पनि जिम्मेवारीप्रतिको समर्पण र कार्यसम्पादन महत्वपूर्ण हुने बताउनुभयो।कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव,वडा नं.१३ का वडाध्यक्ष हिरा गिरी, मधेश प्रदेश सल्लाहकार इमामुद्दिन अहमद, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव तथा सचिव अमित आलोक लगायतको सहभागिता रहेको थियो। वक्ताहरूले विद्यालयका शैक्षिक तथा अतिरिक्त गतिविधिको प्रशंसा गर्दै विद्यार्थीहरूको नेतृत्व विकासमा विद्यालयले खेलेको भूमिकाको सराहना गरेका थिए।सो अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा नवनिर्वाचित विद्यार्थी नेतृत्व तथा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो।विद्यालयले जानकारी दिएअनुसार २०८३ सालका लागि विद्यार्थी नेतृत्व अनलाइन मतदान प्रक्रियामार्फत चयन गरिएको हो।निर्वाचित विद्यार्थीहरूले अबदेखि आ–आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेछन्।कार्यक्रममा प्रिन्सिपल चौधरीले विद्यालयले प्रत्येक वर्ष शैक्षिक, खेलकुद तथा अन्य क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो। साथै नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरूका साथै अपाङ्ग, दलित,शहीद परिवार अल्पसंख्यक,आदिवासी तथा मधेसी समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने परम्परा निरन्तर रहेको बताउनुभयो।कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका प्रमिला श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने सञ्चालन सहायक प्रिन्सिपल अशोक संग्रौलाले गर्नुभएको थियो।