मन्सुर खान बिरगंज असार ८ गते । विशेष अपरेसनमा कुख्यात ब्राउन सुगर कारोबारी पक्राउ, प्रहरीको गोली लागेर घाइते सिरहा प्रहरीले लागुऔषध कारोबारविरुद्ध सञ्चालन गरेको विशेष अपरेसनका क्रममा एक कुख्यात ब्राउन सुगर कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। घटनामा एक नाबालकसमेत पक्राउ परेका छन्।आइतबार साँझ सिरहा नगरपालिका–२१ स्थित लगडीगोठ क्षेत्रमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) र उनका साथमा रहेका एक नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्यूरो, गोलबजार शाखाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गर्न खोज्दा समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्न प्रयास गरेको प्रहरीले जनाएको छ।परिस्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेपछि अर्को राउन्ड गोली प्रहार गरेको थियो। प्रहरीको गोली पासवानको खुट्टाको पिँडुलामा लागेको छ।ढुंगामुढाबाट प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन्।घाइते पासवान र प्रहरी जवान ठाकुर दुवैको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।प्रारम्भिक अनुसन्धानबाट पासवान सिरहा क्षेत्रमा सक्रिय तथा कुख्यात लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ। हालसम्म पक्राउ परेका अधिकांश लागुऔषध प्रयोगकर्ताले ब्राउन सुगर उनैबाट खरिद गर्ने गरेको बयान दिएको प्रहरीको दाबी छ।एसपी पाठकका अनुसार पासवानले विगत केही वर्षमा करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलोग्राम ब्राउन सुगर बिक्री गरेको प्रारम्भिक तथ्य फेला परेको छ। साथै, उनले नाबालकहरूलाई समेत प्रयोग गरी संगठित रूपमा लागुऔषध कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट देखिएको छ।घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।