मन्सुर खान बिरगंज फागुन ६ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ को रानीघाट, श्रीपुर, बहुवरीलगायतका क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।अभियानमार्फत उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदानलाई जोड दिएका छन् । घरदैलोका क्रममा यादवले आफूलाई क्षेत्रको विकासका लागि समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरे । उनले आफ्नो सांसद तथा मन्त्री पदमा रहँदा गरेका कार्यहरूको स्मरण गराउँदै भने,१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ । उनले नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए । पूर्व मन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई चिन्न आग्रह गर्दै भने,पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस् । म सधैँ जनताको सुख–दुखमा साथी बनेर बस्छु । यादवले एमालेको गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणको एजेन्डालाई आफूले मेरो जीवनको हिस्सा बनाएको दाबी गरे । कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो ।