मन्सुर खान बिरगंज साउन ३२ गते । पर्सामा ३० के.जी.लागु औषध गाँजा सहित ठूलो मात्रामा चरेश र गाँजा बरामद,एक व्यक्ति पक्राउ ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो मात्रामा लागु औषध बरामद गर्दै एक व्यक्तिलाई पक्राउ गरेको छ । मिति २०८१ साल श्रावण ३१ गते राति ८ः०० बजे पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ स्थित अकवा गाउँको बाँसघारी क्षेत्रमा विभिन्न किसिमका लागु औषधहरू खरिद विक्री भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले छापामारी गरेको हो । उक्त छापामारीका क्रममा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं.१ मुदुली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई संकास्पद रूपमा लुकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा फुलसरिफ मियाँको साथबाट ३० केजी लागु औषध गाँजा बरामद भएको छ । निजसँग गरिएको सोधपुछमा उनले नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइएको थप लागु औषध रहेको जानकारी दिएका थिए । प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा १९२ केजी लागु औषध चरेश र २६७ केजी गाँजाको धुलो (पोलाण्ड) पनि बरामद गरेको छ । पक्राउ परेका फुलसरिफ मियाँलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारीे दिएको छ ।