मन्सुर खान बिरगंज जेठ ६ गते । पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण र नयाँ सदस्यता माग गर्दै संघर्ष समितिको ज्ञापन।नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले मंगलबार शाखा अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ।संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन प्रक्रिया अघि बढाएर अयोग्य तथा विधानविपरीत रहेका सदस्यहरूलाई हटाउनुपर्ने माग गरेका छन्। साथै, योग्य र सक्षम पत्रकारहरूलाई तत्काल सदस्यता प्रदान गर्न पनि समितिले जोड दिएको छ।समितिले माग सम्बोधन नभए तीन दिनभित्र आवश्यक पहल गर्न चेतावनी दिँदै चरणबद्ध आन्दोलनमा जाने संकेत समेत दिएको छ।ज्ञापन पत्रमा नेपाल पत्रकार महासंघलाई लोकतान्त्रिक व्यवस्था अन्तर्गत नागरिकको विश्वास जितेको संस्थाको रूपमा उल्लेख गर्दै यसको मर्यादा कायम राख्न विधान र पद्धतिअनुसार अघि बढ्नुपर्ने सुझाव दिइएको छ।समितिले २०७२ माघ १४ गते पूर्व अध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा बनेको कार्यदलले तय गरेका सात बुँदे मापदण्डअनुसार सदस्यता छानबिन गरी अयोग्य सदस्यहरूलाई हटाउनुपर्ने माग दोहोर्याएको छ। साथै, पछिल्ला दुई कार्यकालमा सुरु गरिएको शुद्धिकरण अभियानलाई निरन्तरता दिन पनि आग्रह गरिएको छ।ज्ञापन पत्र बुझाउने क्रममा समितिका सहसंयोजक शेखर छतकुल्ली, सदस्य आशिक अंसारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, संतोष पटेल, बलिराम यादव लगायतको उपस्थिति रहेको थियो।पत्रकार महासंघ पर्साको सभाहलमा बुझाइएको उक्त ज्ञापन पत्र बुझ्ने क्रममा वर्तमान कार्यसमितिका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजीव कुमार मिश्र तथा अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।